Bhojraj ECOSYSTEM INITIALIZING...
Back to All Pieces
✍️ Poem & Poetry 3 min read August 29, 2026

उनी : आत्मा र प्रकृति

उनी : आत्मा र प्रकृति
### उनी : आत्मा र प्रकृति
उनी—
सूर्यको पहिलो किरण जस्तै मेरो अन्तरतममा प्रवेश गर्छिन्।
समीर बनेर छातीमा सास भर्छिन्,
चरीहरूको चिरबिर आवाजमा गुञ्जिन्छिन्।
झरना बनेर बग्छिन्,
तालले चन्द्रमाको प्रतिबिम्ब देखाउँछिन्।
उनी मुस्कुराउँछिन् र भन्छिन्—
“तिमी एक्ला होइनौ, म छु तिम्रो साथ।”
म हाँस्दा—
पात हल्लिन्छन्, खोला चम्किन्छन्,
झरना हल्का धुनमा गुञ्जिन्छन्।
उनी पनि हाँस्छिन्,
हिमालको अटलता र समीरको हल्कोपन जस्तै,
मेरो हर्षको आभास।
म रुदा —
झरना भएर आँसु बगाउँछिन्,
माटोमा बगेको जल जस्तो शुद्धताको स्नान।
फूलझैँ मुस्कान दिन्छिन् र भन्छिन्—
“बतासले स्पर्श जस्तै हृदय हर्षित बनाउ।”

सूर्य अस्ताउँदै गर्दा,
उनी—
पर्वतझैँ अटल,
हावा झैँ मृदु,
जलझैँ निर्मल।
चन्द्रको शीतल प्रकाशमा,
तारा झैँ चम्किने उनको दृष्टि।

म मौन छु,
तर उनी मेरो मौनतामा पनि संवाद गर्छिन्।
झरना, हावा, माटो—
मौनतामा पनि उनी बोलेको महसुस हुन्छ।

हो, म मौन छु,
उनी—मेरो मौनको अर्थ।
समीर, बतास, ताल, झरना—
सबै उनका स्वर।
हिमालको अटलता, माटोको स्थायित्व,
फूलको कोमलता।
के यो आकर्षण मात्र हो?
ना होइन—
यो आकर्षणभन्दा परको ऐक्य हो।
म र उनी अलग छैनौं—
एउटै सत्यका दुई छाया।
उनी मलाई बुझ्छिन्,
किनभने उनी हावा,बतास,पानी, माटो, पर्वत,सूर्य—सबै हुन्।
म उनीतिर तानिन्छु,
किनकि म पनि उनको प्रतिध्वनि हुँ।

उनी—
केवल प्रकृति होइनन्।
उनी मेरो आत्मा,
मेरो मौन,
मेरो मार्गदर्शक।


जसरी समीर र झरना सँगै बहन्छन्,
जसरी हिमाल आकाशमा अडिग हुन्छ,
जसरी ताल माटोमा प्रतिबिम्ब देखाउँछ,
त्यसरी नै मलाई “म” बन्न उनी अपरिहार्य छिन्।
✦ ❦ ✦

— भोजराज उपाध्याय

Enjoyed this creation?

Leave a pulse of appreciation to inspire the writer's journey.

RB

Bhoj Raj Upadhayay

IT Systems Architect, Core Banking Systems Consultant, and Author. Exploring the symphony between high-performance computing and expressive literary arts in Nepal.

ESC